Home
Jesus Christ
Bible
Prayer Request
Live Service
Media
About Us
Contact
WEL-COME TO SPIRITUAL PAGE TO GLORIFY GOD
उत्पत्ति१:१ - आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्ति१:२ - पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो। उत्पत्ति१:३ - अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। उत्पत्ति१:४ - अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। उत्पत्ति१:५ - परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो– पहिलो दिन। उत्पत्ति१:६ - अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।” उत्पत्ति१:७ - परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। उत्पत्ति१:८ - परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। उत्पत्ति१:९ - अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो। उत्पत्ति१:१० - परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। उत्पत्ति१:११ - तब परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आफ्नो-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भइहाल्यो। उत्पत्ति१:१२ - भूमिले वनस्पति, बीउ हुने बोटहरू र आफ्नो-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। उत्पत्ति१:१३ - साँझ पर्यो र बिहान भयो– तेस्रो दिन। उत्पत्ति१:१४ - अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्। उत्पत्ति१:१५ - र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो। उत्पत्ति१:१६ - अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो– ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। उत्पत्ति१:१७ - अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई, उत्पत्ति१:१८ - दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। र परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। उत्पत्ति१:१९ - साँझ पर्यो र बिहान भयो– चौथो दिन। उत्पत्ति१:२० - अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित जन्तुहरूले प्रशस्त गरी भरिऊन्। र पन्क्षीहरूचाहिँ पृथ्वीमाथि अन्तरिक्षमा उडून्।” उत्पत्ति१:२१ - यसैले समुद्रका विशाल जलजन्तुहरू, पानीहरूमा भरिएका चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पन्क्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। र परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। उत्पत्ति१:२२ - अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। र पन्क्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।” उत्पत्ति१:२३ - अनि साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन। उत्पत्ति१:२४ - अनि परमेश्वरले भन्नुभयो, “पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पालिने पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। उत्पत्ति१:२५ - परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पालिने पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। र परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। उत्पत्ति१:२६ - फेरि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” उत्पत्ति१:२७ - यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। उत्पत्ति१:२८ - परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” उत्पत्ति१:२९ - तब परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। उत्पत्ति१:३० - र पृथ्वीको हरेक पशु, आकाशको हरेक पन्क्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु– हरेक प्राणी जसमा जीवन छ– तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो। उत्पत्ति१:३१ - आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। र त्यो साह्रै राम्रो थियो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन। उत्पत्ति२:१ - यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए। उत्पत्ति२:२ - आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। उत्पत्ति२:३ - अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। उत्पत्ति२:४ - आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन उत्पत्ति२:५ - भूमिमा एउटै पनि वनस्पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। उत्पत्ति२:६ - तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे। उत्पत्ति२:७ - तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। उत्पत्ति२:८ - परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो। उत्पत्ति२:९ - अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। उत्पत्ति२:१० - बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्केको थियो, र त्यहाँबाट छुट्टिएर त्यो चार शाखा भएको थियो। उत्पत्ति२:११ - पहिलो नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो, जुन हवीलाको समस्त मुलुकमा बहन्छ, जहाँ सुन पाइन्छ। उत्पत्ति२:१२ - त्यस देशको सुन असल हुन्छ। त्यहाँ खोटो र आनिक्सहरू छन्। उत्पत्ति२:१३ - दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्त देशमा बहने नदी यही हो। उत्पत्ति२:१४ - तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो त्यही नदी हो, जो अश्शूरको पूर्वतिर बहन्छ। र चौथो नदी यूफ्रेटिस हो। उत्पत्ति२:१५ - परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो। उत्पत्ति२:१६ - अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, उत्पत्ति२:१७ - तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्। उत्पत्ति२:१८ - फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” उत्पत्ति२:१९ - परमप्रभुले सबै वन-पशु र आकाशका सबै पन्क्षी लाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो। उत्पत्ति२:२० - अनि मानिसले नै सबै पालिने पशु, आकाशका पन्क्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको* निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। उत्पत्ति२:२१ - यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र तिनी निदाएको बेलामा तिनका करङहरूमध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। उत्पत्ति२:२२ - जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाएर मानिसकहाँ ल्याउनुभयो। उत्पत्ति२:२३ - मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिने छ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।” उत्पत्ति२:२४ - यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्। उत्पत्ति२:२५ - मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे। उत्पत्ति३:१ - परमप्रभु परमेश्वरले बनाउनुभएका वन्य पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?” उत्पत्ति३:२ - स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं, उत्पत्ति३:३ - तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।” उत्पत्ति३:४ - सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू मर्दैनौ। उत्पत्ति३:५ - किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।” उत्पत्ति३:६ - जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। उत्पत्ति३:७ - अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। उत्पत्ति३:८ - अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। उत्पत्ति३:९ - तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” उत्पत्ति३:१० - उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।” उत्पत्ति३:११ - उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?” उत्पत्ति३:१२ - मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” उत्पत्ति३:१३ - अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्।” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।” उत्पत्ति३:१४ - तब परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यसो गरेको हुनाले, “तँ सबै पालिने पशुहरू र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले माटो खानेछस्। उत्पत्ति३:१५ - तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” उत्पत्ति३:१६ - स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” उत्पत्ति३:१७ - त्यसपछि आदमलाई उहाँले भन्नुभयो, “तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्। उत्पत्ति३:१८ - त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्। उत्पत्ति३:१९ - माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।” उत्पत्ति३:२० - आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। उत्पत्ति३:२१ - परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। उत्पत्ति३:२२ - तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।” उत्पत्ति३:२३ - यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उत्पत्ति३:२४ - उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। उत्पत्ति४:१ - आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।” उत्पत्ति४:२ - फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। उत्पत्ति४:३ - केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। उत्पत्ति४:४ - तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, उत्पत्ति४:५ - तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो। उत्पत्ति४:६ - तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? उत्पत्ति४:७ - यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।” उत्पत्ति४:८ - कयिनले आफ्ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। उत्पत्ति४:९ - तब परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?” उत्पत्ति४:१० - परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। उत्पत्ति४:११ - तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो। उत्पत्ति४:१२ - तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।” उत्पत्ति४:१३ - कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो। उत्पत्ति४:१४ - हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ, र तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।” उत्पत्ति४:१५ - तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो। उत्पत्ति४:१६ - तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद* भन्ने देशमा बस्न लागे। उत्पत्ति४:१७ - आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। उत्पत्ति४:१८ - हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो। उत्पत्ति४:१९ - लेमेखले दुई वटा पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो। उत्पत्ति४:२० - आदाले याबाललाई जन्माइन्। तिनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उत्पत्ति४:२१ - तिनका भाइको नाउँ यूबाल हो। तिनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। उत्पत्ति४:२२ - सिल्लाले तूबल-कयिनलाई जन्माइन्। तिनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्। उत्पत्ति४:२३ - लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। उत्पत्ति४:२४ - यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।” उत्पत्ति४:२५ - फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एउटा छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एउटा अर्को बालक मलाई दिनुभयो।” उत्पत्ति४:२६ - शेतको पनि एउटा छोरो भयो, र तिनको नाउँ एनोश राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे। उत्पत्ति५:१ - आदमको लिखित वंश-विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। उत्पत्ति५:२ - उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो। उत्पत्ति५:३ - आदमको उमेर एक सय तीस वर्षको हुँदा तिनले आफ्नै स्वरूपमा एउटा छोरालाई जन्म दिएर तिनको नाउँ शेत राखे। उत्पत्ति५:४ - शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:५ - आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:६ - शेतको उमेर एक सय पाँच वर्षको हुँदा तिनले एनोशलाई जन्माए। उत्पत्ति५:७ - एनोश जन्मेपछि शेत आठ सय सात वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:८ - शेतको जम्मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:९ - एनोशको उमेर नब्बे वर्षको हुँदा तिनले केनानलाई जन्माए। उत्पत्ति५:१० - केनान जन्मेपछि एनोश आठ सय पन्ध्र वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:११ - एनोशको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:१२ - केनानको उमेर सत्तरी वर्षको हुँदा तिनले महलालेललाई जन्माए। उत्पत्ति५:१३ - महलालेल जन्मेपछि केनान आठ सय चालीस वर्षसम्म बाँचे। अनि तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:१४ - केनानको जम्मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:१५ - महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा तिनले येरेदलाई जन्माए। उत्पत्ति५:१६ - येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:१७ - महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:१८ - येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा तिनले हनोकलाई जन्माए। उत्पत्ति५:१९ - हनोक जन्मेपछि येरेद आठ सय वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:२० - येरेदको जम्मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:२१ - हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा तिनले मतूशेलहलाई जन्माए। उत्पत्ति५:२२ - मतूशेलह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दैरहे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:२३ - हनोकको जम्मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो। उत्पत्ति५:२४ - हनोक परमेश्वरको साथसाथ हिँड्थे। र तिनी अलप भए, किनभने परमेश्वरले तिनलाई उठाइलानुभयो। उत्पत्ति५:२५ - मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा तिनले लेमेखलाई जन्माए। उत्पत्ति५:२६ - लेमेख जन्मेपछि मतूशेलह सात सय बयासी वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:२७ - मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:२८ - लेमेखको उमेर एक सय बयासी वर्षको हुँदा तिनले एउटा छोरा जन्माए। उत्पत्ति५:२९ - तिनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ।” उत्पत्ति५:३० - नोआ जन्मेपछि लेमेख पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति५:३१ - लेमेखको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति५:३२ - नोआ पाँच सय वर्षका हुँदा तिनले शेम, हाम र येपेतलाई जन्माए। उत्पत्ति६:१ - जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे, उत्पत्ति६:२ - तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आफ्ना-आफ्ना रुचिका पत्नीहरू ल्याए। उत्पत्ति६:३ - तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” उत्पत्ति६:४ - त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए। उत्पत्ति६:५ - पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। उत्पत्ति६:६ - पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। उत्पत्ति६:७ - त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु– के मानिस, के घस्रने जन्तु, के आकाशका पन्क्षी सबैलाई– किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” उत्पत्ति६:८ - तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। उत्पत्ति६:९ - नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। उत्पत्ति६:१० - नोआले तीन जना छोराहरू जन्माए– शेम, हाम र येपेत। उत्पत्ति६:११ - परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। उत्पत्ति६:१२ - जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। उत्पत्ति६:१३ - यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। उत्पत्ति६:१४ - तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नु। उत्पत्ति६:१५ - तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। उत्पत्ति६:१६ - जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू। उत्पत्ति६:१७ - जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। उत्पत्ति६:१८ - तर तँसँग चाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। उत्पत्ति६:१९ - सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। उत्पत्ति६:२० - पन्क्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूहरूमध्ये जात-जातअनुसार– सबै थरीका दुई वटा– तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्। उत्पत्ति६:२१ - हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।” उत्पत्ति६:२२ - परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे। उत्पत्ति७:१ - तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। उत्पत्ति७:२ - सबै जातका शुद्ध पशुहरूमध्येका सात जोड़ी, अर्थात् भाले र पोथी, र जुन-जुन शुद्ध छैनन् तिनीहरूमध्येका दुई, अर्थात् भाले र पोथी, उत्पत्ति७:३ - र पन्क्षीहरूमध्येका पनि सात जोड़ी, अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैंले ल्याउनू। उत्पत्ति७:४ - अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु।” उत्पत्ति७:५ - तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे। उत्पत्ति७:६ - नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। उत्पत्ति७:७ - नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। उत्पत्ति७:८ - शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पन्क्षीहरू र भूइँमा घस्रने हरेक प्राणी उत्पत्ति७:९ - परमेश्वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात् भाले र पोथी नोआकहाँ जहाजमा आए। उत्पत्ति७:१० - अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो। उत्पत्ति७:११ - नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। उत्पत्ति७:१२ - अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। उत्पत्ति७:१३ - ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। उत्पत्ति७:१४ - तिनीहरू र आफ्नो-आफ्नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू, र आफ्नो-आफ्नो जातका सबै थरीका पन्क्षीहरू पसे। उत्पत्ति७:१५ - जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। उत्पत्ति७:१६ - परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। उत्पत्ति७:१७ - पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। उत्पत्ति७:१८ - पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। उत्पत्ति७:१९ - पानी पृथ्वीमा जोरसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। उत्पत्ति७:२० - पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। उत्पत्ति७:२१ - पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात– के पन्क्षी , के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू– तथा सबै मानिसहरू मरे। उत्पत्ति७:२२ - ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। उत्पत्ति७:२३ - अनि जति प्राणी जमिनमा थिए– के मानिस, के पशु, के घस्रने जन्तु, के पन्क्षी , सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे। उत्पत्ति७:२४ - अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो। उत्पत्ति८:१ - तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो। उत्पत्ति८:२ - अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो। उत्पत्ति८:३ - अनि पानी पृथ्वीमा लगातार घट्दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। उत्पत्ति८:४ - सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। उत्पत्ति८:५ - दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे। उत्पत्ति८:६ - चालीस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले, उत्पत्ति८:७ - र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्जेल त्यो काग यताउता उड़िरह्यो। उत्पत्ति८:८ - तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। उत्पत्ति८:९ - त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनीकहाँ नै जहाजमा फर्क्यो, किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्याए। उत्पत्ति८:१० - अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। उत्पत्ति८:११ - त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। उत्पत्ति८:१२ - तब तिनले अरू सात दिन पर्खेर त्यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्यो तिनीकहाँ फर्केर आएन। उत्पत्ति८:१३ - नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्खा थियो। उत्पत्ति८:१४ - अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्यो। उत्पत्ति८:१५ - तब परमेश्वरले नोआलाई भन्नुभयो, उत्पत्ति८:१६ - “तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की। उत्पत्ति८:१७ - तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पन्क्षी दुवै, र घस्रने जन्तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा फैलिँदै र संख्यामा वृद्धि हुँदैजाऊन्।” उत्पत्ति८:१८ - तब नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए। उत्पत्ति८:१९ - र सबै पशु, घस्रने जन्तु, पन्क्षी – पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए। उत्पत्ति८:२० - अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पन्क्षी मध्येबाट लिई होमबलि चढ़ाए। उत्पत्ति८:२१ - त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ। उत्पत्ति८:२२ - “पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।” उत्पत्ति९:१ - त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ। उत्पत्ति९:२ - पृथ्वीका सबै पशुहरू र आकाशका सबै पन्क्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्। उत्पत्ति९:३ - जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु। उत्पत्ति९:४ - “तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ। उत्पत्ति९:५ - र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु। उत्पत्ति९:६ - “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो। उत्पत्ति९:७ - तिमीहरूचाहिँ फल्दै-फुल्दैजाओ। पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।” उत्पत्ति९:८ - तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो, उत्पत्ति९:९ - “तिमीहरू र तिमीहरूका भावी सन्तानसित, उत्पत्ति९:१० - तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू– अर्थात्, पन्क्षीहरू, पालिने पशुहरू, वन-पशुहरू– तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। उत्पत्ति९:११ - म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्,अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।” उत्पत्ति९:१२ - अनि परमेश्वरले भन्नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। उत्पत्ति९:१३ - म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। उत्पत्ति९:१४ - जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, उत्पत्ति९:१५ - मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन। उत्पत्ति९:१६ - जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।” उत्पत्ति९:१७ - यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो।” उत्पत्ति९:१८ - जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए। उत्पत्ति९:१९ - नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। उत्पत्ति९:२० - माटोमा काम गर्ने नोआले दाखबारी लगाए। उत्पत्ति९:२१ - जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे। उत्पत्ति९:२२ - कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए। उत्पत्ति९:२३ - तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्। उत्पत्ति९:२४ - जब नोआलाई मद्यको निद्राले छोड़्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, उत्पत्ति९:२५ - तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।” उत्पत्ति९:२६ - तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्। उत्पत्ति९:२७ - परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।” उत्पत्ति९:२८ - जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे। उत्पत्ति९:२९ - नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे। उत्पत्ति१०:१ - नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्मे। उत्पत्ति१०:२ - येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास। उत्पत्ति१०:३ - गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा। उत्पत्ति१०:४ - यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम। उत्पत्ति१०:५ - यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्येकको आफ्नो भाषा र जातिअनुसार फिँजिए। उत्पत्ति१०:६ - हामका छोराहरू: कूश, मिश्रइम,* पूत र कनान। उत्पत्ति१०:७ - कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह, र सब्तका। रामाहका छोराहरू: शेबा र ददान। उत्पत्ति१०:८ - कूशले निम्रोदलाई जन्माए। यिनीनै वीर पुरुष भए। उत्पत्ति१०:९ - यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ। उत्पत्ति१०:१० - सुरुमा तिनको राज्यमा बेबिलोन, एरेक, अक्कद र कल्नेह थिए, जुन शिनार देशमा छन्। उत्पत्ति१०:११ - त्यही देशबाट तिनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू, उत्पत्ति१०:१२ - अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो। उत्पत्ति१०:१३ - मिश्रइम लूदी, अनामी, लहाबी, नप्तूही उत्पत्ति१०:१४ - पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए। उत्पत्ति१०:१५ - कनानले आफ्ना जेठा छोरा सीदोन जन्माए। उत्पत्ति१०:१६ - कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, उत्पत्ति१०:१७ - हिव्वी, अरकी, सिनी, उत्पत्ति१०:१८ - अर्वादी, समारी र हमातीहरू उत्पन्न भए। त्यसपछि कनानका वंशहरू जताततै फिँजिए। उत्पत्ति१०:१९ - कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो। उत्पत्ति१०:२० - हामका छोराहरू, तिनका वंश र भाषाअनुसार, र तिनका देश र जातिहरू यी नै हुन्। उत्पत्ति१०:२१ - येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए। उत्पत्ति१०:२२ - शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए। उत्पत्ति१०:२३ - अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए। उत्पत्ति१०:२४ - अर्पक्षदले शेलहलाई जन्माए। शेलहले एबेरलाई जन्माए। उत्पत्ति१०:२५ - एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने तिनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। तिनका भाइको नाउँ योक्तान थियो। उत्पत्ति१०:२६ - योक्तानले अल्मोदद, शेलेप, हसर्मवित, येरह, उत्पत्ति१०:२७ - हदोरम, ऊजाल, दिक्ला, उत्पत्ति१०:२८ - ओबाल, अबमाएल, शेबा, उत्पत्ति१०:२९ - ओपीर, हवीला र योबाबलाई जन्माए। यी सबै योक्तानका छोराहरू थिए। उत्पत्ति१०:३० - तिनको वासस्थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्म थियो। उत्पत्ति१०:३१ - शेमका छोराहरू, तिनका वंश र भाषाअनुसार, र तिनका देश र जातिहरू यी नै हुन्। उत्पत्ति१०:३२ - नोआका छोराका वंशहरू आफ्नो-आफ्नो जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए। उत्पत्ति११:१ - त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। उत्पत्ति११:२ - मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे। उत्पत्ति११:३ - तिनीहरूले आपसमा भने, “लौ, हामीहरू ईंट बनाएर पोलौं।” ढुङ्गाको सट्टा ईंट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। उत्पत्ति११:४ - तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।” उत्पत्ति११:५ - मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। उत्पत्ति११:६ - अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन। उत्पत्ति११:७ - आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।” उत्पत्ति११:८ - तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। उत्पत्ति११:९ - यसकारण त्यसको नाउँ बाबेल* राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो। उत्पत्ति११:१० - शेमको वृत्तान्त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेमले अर्पक्षदलाई जन्माए। उत्पत्ति११:११ - अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:१२ - अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा तिनले शेलहलाई जन्माए। उत्पत्ति११:१३ - शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:१४ - शेलहको उमेर तीस वर्षको हुँदा तिनले एबेरलाई जन्माए। उत्पत्ति११:१५ - एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:१६ - एबेरको उमेर चौतीस वर्षको हुँदा तिनले पेलेगलाई जन्माए। उत्पत्ति११:१७ - पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:१८ - पेलेगको उमेर तीस वर्षको हुँदा तिनले रऊलाई जन्माए। उत्पत्ति११:१९ - रऊ जन्मेपछि पेलेग दुई सय नौ वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:२० - रऊको उमेर बत्तीस वर्षको हुँदा तिनले सरूगलाई जन्माए। उत्पत्ति११:२१ - सरूग जन्मेपछि रऊ दुई सय सात वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:२२ - सरूगको उमेर तीस वर्षको हुँदा तिनले नाहोरलाई जन्माए। उत्पत्ति११:२३ - नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:२४ - नाहोरको उमेर उनन्तीस वर्षको हुँदा तिनले तेरहलाई जन्माए। उत्पत्ति११:२५ - तेरह जन्मेपछि नाहोर एक सय उन्नाईस वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे। उत्पत्ति११:२६ - तेरहको उमेर सत्तरी वर्षको हुँदा तिनले अब्राम, नाहोर र हारानलाई जन्माए। उत्पत्ति११:२७ - तेरहको वृत्तान्त यही हो। तेरहले अब्राम, नाहोर र हारानलाई जन्माए। अनि हारानले लोतलाई जन्माए। उत्पत्ति११:२८ - हारान तिनका बाबु तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे। उत्पत्ति११:२९ - अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए। उत्पत्ति११:३० - साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्। उत्पत्ति११:३१ - तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे। उत्पत्ति११:३२ - तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि तिनी हारानमा मरे। उत्पत्ति१२:१ - परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। उत्पत्ति१२:२ - “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस्। उत्पत्ति१२:३ - तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष् पाउनेछन्।” उत्पत्ति१२:४ - यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। उत्पत्ति१२:५ - अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के, अनि त्यहाँ पुगे। उत्पत्ति१२:६ - अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। उत्पत्ति१२:७ - परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए। उत्पत्ति१२:८ - त्यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे। उत्पत्ति१२:९ - अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए। उत्पत्ति१२:१० - अनि त्यस देशमा अनिकाल पर्यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए। उत्पत्ति१२:११ - तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्दरी छ्यौ भन्ने मलाई थाहा छ। उत्पत्ति१२:१२ - जब मिश्रीहरूले तिमीलाई देख्छन्, ‘यो त त्यसकी पत्नी रहिछ’ भन्नेछन्। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। उत्पत्ति१२:१३ - ‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।” उत्पत्ति१२:१४ - जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे। उत्पत्ति१२:१५ - अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे। उत्पत्ति१२:१६ - तिनको खातिर फारोले अब्रामसँग राम्रो व्यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए। उत्पत्ति१२:१७ - तर परमप्रभुले अब्रामकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो। उत्पत्ति१२:१८ - यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ? उत्पत्ति१२:१९ - ‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ। अब हेर, तिम्री पत्नी यहीँ छिन्। तिनलाई लिएर जाऊ।” उत्पत्ति१२:२० - अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए। उत्पत्ति१३:१ - अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। उत्पत्ति१३:२ - पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए। उत्पत्ति१३:३ - तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो, उत्पत्ति१३:४ - र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे। उत्पत्ति१३:५ - अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्तुहरूका बथान र पालहरू थिए। उत्पत्ति१३:६ - त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए।
Home